‘उद्योग र व्यापार छुट्याउनुपर्ने सरकारको नीति हुनुपर्छ’

Swastika Bhandari

१९ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्योग र व्यापार छुट्याउनुपर्ने सरकारको नीति हुनुपर्ने बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौं साधारणमा शुक्रबार श्रेष्ठले उद्योग र व्यापार छुट्याउनुपर्ने सरकारको नीति हुनुपर्ने बताएका हुन् ।

‘गभर्नरले उद्योग र व्यापारको ब्याजदर फरक पार्ने सुझाव दिनुस् भन्नुभएका थियो । तर, अहिलेसम्म पनि भएन । मलाई पनि त्यस्तै लाग्छ,’ श्रेष्ठले भने, ‘आज व्यापार क्षेत्रले सस्तो ब्याजदर इन्जोय गरिरहेको छ । उद्योगको ब्याजदर सस्तो नहुने हो भने सम्भव छैन ।’

उनले उद्योग, व्यापार र कृषि विकासविना देश र अर्थतन्त्रको विकास सम्भव नहुने बताए । तर, यिनै क्षेत्रलाई राज्य र बैंकिङ क्षेत्रले हेला गरेको हो कि भन्ने बुझिएको उनको भनाइ छ ।

मुलुकको जनसंख्या घटिरहेको र युवा पलायन भइरहेका कारण राज्यको नीति उपभोग घटाउने खालको रहेको उनले उल्लेख गरे ।

‘तसर्थ, बजारमा माग छैन, चुनौतीपूर्ण स्थिति छ । सोच परिवर्तन गर्नुपर्छ, कृषि उत्पादनलाई औद्योगिक उत्पादनमा रूपानतरण गर्नुपर्छ र बजार बढाउनुपर्छ,’ उनले भने ।

त्यस्तै नयाँ ऋणमा ब्याजदर घटे पनि पुरानोमा नघटेको गुनासो व्यवसायीको रहेको श्रेष्ठले बताए । समस्यामा परेका व्यवसायीलाई हर्जना लगाउने व्यवस्थाले व्यवसायको लागत बढेको उनेका भनाइ छ ।

‘जिल्लामा बैंक घटेका छन् । धेरै बैंकले जिल्लामा लगानी नगर्ने कुरा गरिहेका छन् । सत्य हो भने सच्याइदिनोस्,’ उनले भने, ‘बैंकहरू लगानी बढाउने, तरलता धेरै छ भन्ने कुरा गर्छन् तर जिल्लामा ऋण जान सकिरहेको छैन ।’

उनका अनुसार नेपालमा कर धेरै छ । ‘ट्याक्स टु जीडीपी’ अनुपात १५ प्रतिशतभन्दा बढी छ । भारत, बंगलादेश, श्रीलंकामा १० प्रतिशतभन्दा कम छ । नेपाली र नेपाली व्यवसायीले धेरै नै कर तिरिरहेका छन् ।

त्यसैगरी नेपाल बैंकर्स संघ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुरेन्द्र रेग्मीले अन्तर्राष्ट्रिय रूपमा नेपालको बैकिङले छिटो फड्को मारेको बताए । त्यसकारण बैंकिङ क्षेत्रमा विश्वास कायम रहनुपर्ने उनको भनाइ छ ।

बैंकहरू साढे ५ करोड निक्षेप खाताको ‘ट्रस्टी’ पनि हुन् भन्दै रेग्मीले उनीहरूबाट संकलन गरेको स्रोत १९ लाख ऋणीमा बाँडेको उल्लेख गरे । ‘ऋण असुली नहुँदा सबैमा समस्या हुन्छ । बैंकिङ क्षेत्र सुरक्षित भएमात्रैअर्थतन्त्र अगाडि बढ्छ,’ उनले भने ।

Sharing Is Caring:

Leave a Comment