पुस १९, २०८१
काठमाडौँ — सन् २०२४ को कुन प्रविधि तपाईंलाई सबैभन्दा उत्कृष्ट लाग्यो ? यस वर्ष सूचना प्रविधि क्षेत्रका हरेक ‘अपग्रेड’ हरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रित भए । एआईको प्रभाव, विस्तार र अन्य प्रविधिसँग समाहित गर्ने विषय वर्ष २०२४ भर सर्वाधिक चासो र चर्चामा रह्यो ।
मोबाइल प्रविधि, स्पेससम्बन्धी खोज, क्वान्टम कम्प्युटिङ र हरित प्रविधिको क्षेत्रमा पनि विभिन्न पहल भए । सेमिकन्डक्टरलगायत उन्नत चिप र त्यसको आपूर्तिमा भएको व्यावसायिक र राजनीतिक प्रतिस्पर्धा वर्ष २०२४ मा झन् बढ्यो ।
वर्षको अर्को उल्लेख्य विषयका रूपमा विभिन्न देशमा टिकटकमाथिको प्रतिबन्ध र अमेरिकामा जारी बहस पनि चर्चामा रह्यो । २०२४ को सुरुवातमा लडखडाएको क्रिप्टो बजार अन्त्यसम्म आइपुग्दा ह्वात्तै अकासियो । बिटक्वाइनको मूल्य पहिलोपल्ट १ लाख अमेरिकी डलर नाघ्दा सो कम्पनीले आफ्नो लगानीको ४४० प्रतिशतसम्म प्रतिफल हासिल गर्यो ।
मोबाइल र ग्याजेटका क्षेत्रमा केही नयाँ उत्साह जगाउने उत्पादन सार्वजनिक भए । विद्युतीय सवारीको प्रयोग र उन्नति दुवै बढ्यो । विश्वकै धनाढ्य टेक अर्बपति इलन मस्क अमेरिकी राष्ट्रपतीय चुनावमा उल्लेखनीय प्रभाव पार्न सक्ने मात्र बनेनन्, झन्डै साढे ४ खर्ब डलरका प्रवर्द्धकसमेत बने ।
डिसेम्बर ३० को फोर्ब्स अर्बपतिहरूको सूचीमा पहिलो १० मध्ये सात स्थान सिलिकन भ्यालीका टेक टाइकुनहरूले ओगटेको देखियो । यसरी उनीहरूको प्रभाव बढ्दै जानुलाई प्रविधि व्यवसायीहरूका लागि वर्ष २०२४ अत्यन्तै फापेका रूपमा व्याख्या गर्न सकिन्छ ।
कोभिड–१९ महामारीपछि केही धर्मराएको ‘टेक–बिज’ क्षेत्रमा कर्मचारी कटौती, कानुनी झमेला, विभिन्न नीतिगत प्रश्न र जटिल भूराजनीतिका अनेक समस्या आइपरेका थिए । तर, सन् २०१४ को अन्त्यतिर आइपुग्दा यो क्षेत्रले आफ्नो विस्तार र प्रभावको गति कायम राख्न सफल भएको देखियो ।
२०२४ मा भएका ठूला सफलता
प्रविधि क्षेत्रमा वर्ष २०२४ को सबैभन्दा ठूलो विजेता सेमिकन्डक्टर र उन्नत चिपको बजारलाई मान्न सकिन्छ । उन्नत चिपको प्रमुख उत्पादक एनभिडिया पहिलो पटक लगभग एक वर्षमै १८३ प्रतिशतले बढेर ३० खर्ब अमेरिकी डलरको कम्पनी बन्न सफल भयो ।
यो कम्पनी गत जुन महिनामा उच्च सेयर मूल्य कायम गर्दै विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको थियो । हाल यो एप्पलपछि दोस्रो मूल्यवान् कम्पनीमा छ । सेमिकन्डक्टर चिपका विषयमा विश्वका दुई ठूला महाशक्ति अमेरिका र चीनबीचको व्यापारिक तनाव पनि यो वर्ष थप बढ्यो । एकअर्कालाई निषेध गर्ने र प्रतिबन्ध लगाउने अवस्थाले निरन्तरता नै पायो ।
एनभिडियाका प्रमुख ताइवानी अमेरिकी जेनसेन हुआङ १२० अर्ब अमेरिकी डलरको सम्पत्तिसहित विश्वकै दसौं धनाढ्य बन्न सफल भए । सन् २०२४ भरमा उन्नत चिप र यससम्बन्धी प्रविधिको विश्वव्यापी बजार बढेर झन्डै ७ खर्ब अमेरिकी डलर आसपास पुग्यो ।
फाइभजी प्रविधि, एआई, विद्युतीय सवारीसँगै अन्य क्षेत्रमा उन्नत चिपको बढ्दो मागले यो क्षेत्र सन् २०२५ सम्ममा लगभग ८ खर्ब अमेरिकी डलरको बजार बन्ने अनुमान विज्ञहरूको छ । एनभिडियासँगै ताइवानी चिप कम्पनी (टीएमएससी), सामसङ, इन्टेल, क्वालकमलगायतको कमाइ पनि अकासियो ।
वर्ष २०२४ को अर्को ठूलो विषय थियो– आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई क्षेत्र । सन् २०२२ बाट उकालो लाग्न सुरु भएको एआईको विकास र विस्तार यो वर्ष अकासियो । एआईको प्रयोग यस वर्ष कन्टेन्ट जेनेरेसन प्लाटफर्महरूमा मात्र सीमित नरहेर एप्पल इन्टेलिजेन्स र कम्प्युटिङका कतिपय क्षेत्रमा समाहित गर्ने प्रयास रह्यो । विश्वव्यापी रूपमा पनि एआई दैनिक प्रयोगको विषय बन्दै गर्दा यो प्रविधिको नियमन र यसका कारण खपत हुने ऊर्जा पनि वर्ष २०२४ का चर्चित मुद्दा रहे ।
च्याटजीपीटी निर्माता ओपनएआईका प्रमुख साम अल्टम्यान वर्षभरि मिडियामा छाइरहे । परम्परागत रूपमा जेनेरेटिभ एआईमा सन्देह राख्ने एप्पल, मेटा, गुगल, एक्स, अमेजनलगायतले पनि आफ्ना विभिन्न उत्पादन र प्लाटफर्ममा एआईको प्रयोग र शोध बढाएको देखियो ।
एआईको विश्व बजार सन् २०२४ मा १८४ अर्ब अमेरिकी डलर पुग्यो भने सन् २०२५ मा यो २३६ अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ । ओपनएआईको आम्दानी २०२४ मा दोब्बर वृद्धि भयो । एआईलाई नियन्त्रण गर्नुपर्छ भन्ने इलन मस्क आफैं एक्सएआईका लागि लगभग ३५ अर्ब अमेरिकी डलर लगानी जुटाउनमा लागे ।
वर्ष २०२४ का अन्य ठूला खबरमा क्वान्टम कम्प्युटिङमा बढ्दो लगानी पनि मुख्य हो । यसमा गुगललगायत विभिन्न कम्पनीले उल्लेखनीय प्रविधि विकास गरे भने विश्वकै ठूला र द्रुत गतिका सुपर कम्प्युटर बनाउने प्रतिस्पर्धा पनि यो वर्ष बढेर गयो ।
स्ट्रिमिङ प्लाटफर्महरूमा यस पटक खेलकुदका लाइभ प्रसारणहरूले माहोल बनाए । पिकक एपमा दुई सातासम्म चलेको पेरिस ओलम्पिकका सबै ३९ खेलहरूको लाइभ स्ट्रिमिङ गरियो । हालै मात्र क्रिसमस डेका दिन नेटफ्लिक्सले एनएफएलका खेल प्रत्यक्ष प्रसारण गर्दा करिब साढे ६ करोड दर्शकले हेरेका थिए ।
यस वर्ष प्रविधि क्षेत्रका इन्नोभेटिभ प्रोडक्टमा इलन मस्कले सार्वजनिक गरेको साइबर क्याब, एनभिडियाको ब्ल्याकवेल एआई चिप, एप्पलको मिक्स्ड रियालिटी हेडसेट ‘एप्पल भिजन–प्रो’ लगायत छन् । टाइम म्यागजिनले सार्वजनिक गरेको ‘द बेस्ट इन्भेन्सन्स अफ २०२४’ अनुसार कन्जुमर इलेक्ट्रोनिक्समा हुवावेको ट्राइफोल्ड फोन, एलजीको पारदर्शी टेलिभिजन, सामसङको अल्ट्रा–हाई डेफिनेसन एटके टीभी छन् ।
एआईमा आधारित ट्वाइलेट सिटदेखि छिट्टै निदाउन सघाउने मुनबर्डको डिभाइस, लाइफस्ट्र सिप नामक कम्पनीले बनाएको पानी फिल्टर गर्न जहाँ पनि बोकेर हिँड्न मिल्ने स्ट्र, लेनोभोको पारदर्शी डिस्प्ले भएको ल्यापटप ‘थिंकबुक’, प्रयोगशालामा उत्पादित मासु, कान कम सुन्नेलाई सघाउने एप्पलको एयरपड्स प्रो २, एआई डेटिङ एसिस्टेन्टजस्ता डिभाइसलाई यो वर्षमा उत्कृष्ट आविष्कार मानेको छ ।
वर्षका ठूला असफलता
वर्ष २०२४ प्रविधि क्षेत्रमा सफलता मात्रै लिएर आएन, असफलताका कथा पनि उत्तिकै देखिए । अन्तरिक्षसम्बन्धी खोजमा सन् २०२४ मा एकपछि अर्को समस्या आइपरे । केही यान र स्पेस एक्सका कतिपय उडान सफल भए पनि मंगल ग्रह र चन्द्रमा यात्राका कतिपय पक्षमा ढिलाइ भयो । स्पेस बजारको प्रतिस्पर्धामा आक्रामक रूपमा ओर्लिएको बोइङका स्टारलाइनरजस्ता यानले अपेक्षित परिणाम दिएनन् ।
गत अगस्टमा बोइङको स्टारलाइनर अन्तरिक्षयान चढेर ८ दिनका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा गएका दुई एस्ट्रोनट सो यानमा समस्या भएपछि अझै उतै अड्किएर बसेका छन् । स्पेस एक्सका पनि कतिपय भेन्चरमा समस्या देखियो भने भारतलगायत देशका उडानले अपेक्षित सफलता पाएनन् । सन् २०२४ मा वर्षभरि झन्डै १० हजार सार्वजनिक रूपमा स्वीकार गरिएका साइबर आक्रमण र ह्याकिङका घटनाहरू पनि भए ।
अमेरिका, बेलायतलगायत विभिन्न देशका टेलिकम, स्वास्थ्य र रक्षालगायत विभिन्न सरकारी निकायमाथि साइबर आक्रमणको प्रयास भए । सन् २०२४ मा साइबर अपराधबाट विश्वव्यापी रूपमा झन्डै ९० खर्ब अमेरिकी डलर आसपासको क्षति भएको अनुमान छ । अमेरिका आफैंले साढे ३ खर्ब डलरभन्दा बढीको आर्थिक क्षति बेहोरेको सिपहर्टेक्स नामक डेटा सुरक्षा कम्पनीको आकलन छ ।
यस वर्ष एप्पलका थुप्रै सेवा बन्द भए । कम्पनीले आइट्युन, बाई नाउ पे लेटर जस्ता सेवा बन्द गरेको घोषणा गर्यो भने एप्पलको विद्युतीय कार ‘प्रोजेक्ट टाइटन’ पनि यसै वर्षदेखि रद्द गरियो । फसिल कम्पनीका स्मार्टवाच, गुगल पडकास्ट, मेटाको मिस्क्ड रियालिटी र क्वेस्ट प्रो हेडसेट पनि यस वर्षदेखि नै उत्पादन निरन्तर नगर्ने निर्णय गरियो ।
गुगलले सन् २०१३ देखि सञ्चालनमा ल्याएको प्रसारणसम्बन्धी टुल ‘क्रोमकास्ट’, सन् २०१७ मा सार्वजनिक गरिएको डिजिटल फोरके टचस्क्रिन ह्वाइटबोर्ड ‘ज्यामबोर्ड’ र सन् २०२० मा सार्वजनिक गरिएको भीपीएन बाई गुगल वान, गुगल पडकास्टजस्ता सेवा पनि अब उपयोग गर्न पाइने छैन ।
यस वर्ष ठूला प्रविधि कम्पनीहरूले झेल्नुपरेका कानुनी र नीतिगत झमेलाहरू पनि निरन्तर चर्चाको विषय बने । एआई प्रयोगकर्ताको गोपनीयता, सर्जकहरूको प्रतिलिपि अधिकार, बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलगायतका कैयौं विषय अदालत र सरकारी निकायहरूको प्रश्नको घेरामा रहे ।
ठूला कम्पनीहरूले युरोपेली संघ, भारतजस्ता देशहरूमा उल्लेख्य जरिवाना बुझाउन बाध्य भए भने युरोपेली संघको कानुन उल्लंघन गरेको भन्दै टेलिग्रामका प्रमुख कार्यकारी अधिकृतलाई फ्रान्समा पक्राउ गरियो ।
भिडियो सेयरिङ प्लाटफर्म टिकटकले नेपाललगायत विभिन्न देशमा प्रतिबन्ध र फुकुवा झेल्दै अमेरिकामा उक्त कम्पनीका प्रमुखलाई संसद्मा बयानका लागि बोलाइएको विषय पनि चर्चामा रह्यो । अमेरिकामा टिकटकसम्बन्धी बहस नटुंगिँदै अस्ट्रेलियाले भने बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा पूर्ण रोक लगाउने घोषणा गर्यो ।
समग्रमा, वर्ष २०२४ मा ठूला प्रविधि कम्पनी र तिनका प्रवर्द्धकहरूको बढ्दो राजनीतिक प्रभाव नै प्रविधि क्षेत्रको मुख्य विषय बन्न पुग्यो । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हलिउडका सेलेब्रिटीहरूभन्दा जो रोगनजस्ता पडकास्टर प्रभावकारी बने । सिलिकन भ्यालीका एकपछि अर्को प्रविधि व्यवसायीले राजनीतिक नियुक्ति पाउनुले प्रविधि व्यवसायीको बढ्दो राजनीतिक लगाव र शक्तिलाई उजागर गरेको छ ।
इलन मस्क र जेडी भान्सजस्ता सिलिकन भ्यालीका भित्रियाहरूसँगै ह्वाइट हाउस छिर्ने तयारीमा रहेका डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल वर्ष २०२५ सँगै सुरु हुने र एआईलगायत द्रुत गतिमा विकास भइरहेका प्रविधि बजार नियमनमा सरकारहरूको लागि बढ्दो चुनौतीले आगामी वर्ष पनि यो क्षेत्रको उथलपुथल कायम रहने अनुमान गर्न सकिन्छ ।