मध्य सहरमा उभिइरहेको ‘मर्क्योर’

Swastika Bhandari

पुस १९, २०८१

काठमाडौँ — चाबहिलबाट महाराजगन्जतर्फ जाँदै गर्दा सुकेधारा चोकैको बायाँतर्फ १२ तले भवनले जोकसैका आँखा लोभ्याउँछ । व्यस्त सडकनजिकै बनाइएको ठूलो भवनकै कारण मानिसको ध्यान तानिरहेको हो । यो सबैको ध्यान तान्ने भवनमा के होला– जिज्ञासा उत्पन्न हुन्छ नै । 

यसमा अरू केही नभएर पाँचतारे होटल छ– मर्क्योर । विमानस्थलबाट नजिक होटल बनाउन पाए स्वदेशी–विदेशी पाहुनालाई सजिलो हुन्थ्यो भन्ने मनसायले व्यस्त सडक छेउमै ‘लोकेसन’ छानिएको होटलका अध्यक्ष एवं लगानीकर्ता देशबन्धु बस्नेत बताउँछन् । ‘जहाजमार्फत आउने पाहुनालाई विमानस्थलबाट निस्किएको आठ/दस मिनेटमै होटल पुगौं भन्ने हुन्छ,’ उनले भने, ‘यही विषयलाई दृष्टिगत गरी व्यस्त सडक छेउमै होटल बनाएका हौं ।’

सुकेधारा आसपासमा ठूला चार वटा चेन होटल बनिरहेको बस्नेतले जनाए । ‘यी होटल बौद्धनाथ र पशुपतिनाथ दर्शन गर्न आउने पर्यटकका लागि सजिलो गन्तव्य पनि बन्न सक्छन्,’ बस्नेतले भने । मर्क्योर एकोर ग्रुपको चेन होटल हो । ‘एकोर युरोपियन ब्रान्ड हो, नेपालको पर्यटनमा १८ देखि २२ प्रतिशत युरोपियन पर्यटकको योगदान छ,’ बस्नेतले भने । नेपालमा १११ औं चेन होटलका रूपमा यो सञ्चालनमा आएको उनको भनाइ छ ।

मर्क्योर होटल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको बस्नेतले जनाए । होटलको सामुन्ने ढुंगेधारा बनाइएको छ । ‘सुकेधारालाई चिनाउन पुरातत्त्व विभागसँग स्वीकृति लिएर धारो बनाएका हौं,’ उनले भने, ‘सडक डिभिजन काठमाडौंसँग स्वीकृति लिएर होटल अघिल्तिर १ सय ४० मिटर सडक बनाएर कालोपत्रसमेत गरेका छौं ।’ होटल अगाडिको सडक, धारोलगायत अन्य पूर्वाधार निर्माणमा मात्र ६ करोडभन्दा बढी लगानी गरिएको उनको भनाइ छ ।

होटलका कोठाहरूमा नेपाली कला–संस्कृति झल्कने चित्र बनाएर राखिएको छ । प्रत्येक कोठाको बेडमाथि आँखीझ्याल बनाइएको छ । ‘होटलमा सकेसम्म नेपालीपन झल्काउने काम गरेका छौं,’ उनले भने, ‘त्यसमा पनि नेपाली खानालाई विशेष प्राथमिकता दिएका छौं ।’ १२ तलामा स्विमिङ पुल छ भने ११ तलामा इन्डियन र भुइँ तलामा इटालियन रेस्टुराँ छ । आधुनिक जिम हल, स्टिम र साउना होटल परिसरमै छ । होटलमा १ सय ४ वटा कोठा छन् ।

करिब चार सय जना क्षमताको ब्यांक्वेट हल बनाइएको छ । दुई वटा बैठक कक्ष छन् । होटल ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । थप ४ सय क्षमताको ब्यांक्वेट हल निर्माण गर्न लागिएकाले आवश्यक जग्गा थप्दै लगिने बस्नेतले सुनाए । १२ तलामाथिबाट काठमाडौं वरपरको दृश्य सहजै निकाल्न सकिन्छ । होटलले अहिले १ सय ८० जनालाई रोजगारी दिएको छ । पछिसम्म २ सय २० जनालाई रोजगारी दिइने उनले जनाए ।

वैदेशिक रोजगारीमा गएर आएकाहरूसमेत होटलमा रोजगार छन् । ‘पर्यटनको क्षेत्रमा लगानी बढ्दै छ तर हवाई टिकटमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । पर्यटनमा दुई प्रतिशत विलासिता कर लगाइएको छ,’ उनले भने, ‘यी कुरा सरकारले व्यवसायीहरूसँग समन्वय गरेर समाधान गर्नुपर्छ ।’ होटलको औपचारिक उद्घाटन भने माघ २ मा गर्ने तयारी रहेको बस्नेतले बताए ।

‘कागजी रूपमा हामीले पाँचतारेकै स्वीकृति लिएर काम गरेका हौं,’ उनले भने, ‘अब औपचारिक रूपमा सञ्चालनमा आएको दुई महिनाभित्र यसको लाइसेन्स लिनेछौं ।’ बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य र पर्यटन तथा हवाई यातायात समितिका अध्यक्ष हुन् । एबी होल्डिङका अध्यक्षसमेत रहेका उनले इटहरीमा अमेरिकन ब्रान्डको रमडा बाई विन्डहम होटल खोल्ने तयारीमा रहेको जनाए ।

Sharing Is Caring:

Leave a Comment