फास्ट ट्र्याकलाई वैकल्पिक बाटोबाट बिजुली

Swastika Bhandari

पुस १९, २०८१

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ मान्डु माल्टाबेंसी र इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत दिने भएको छ । 

विद्युत् अभावमा फास्ट ट्र्याकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी सक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको छ । उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन ।

फास्ट ट्र्याकको मान्डु माल्टाबेंसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङलगायत संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको हो । फास्ट ट्र्याकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट बिजुली चाहिन्छ । त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ ।

विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत् केन्द्र ढोर्सिङबाट मान्डुसम्मको पहिले चालु रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइनेछ ।

काठमाडौंमा जगेडामा रहेको २२.५ एमभीएको पावर ट्रान्सफर्मरलाई ढोर्सिङ सबस्टेसनमा लगेर त्यहाँ जडान गरी सोहीमार्फत फास्ट ट्र्याकका लागि आवश्यक विद्युत् आपूर्ति दिइने प्राधिकरणले जनाएको छ ।

ढोर्सिङ सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि हाल ५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर पूर्ण भारमा चालु रहेकाले थप विद्युत् प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सफर्मर थप्न लागिएको हो । गत असोज ११ र १२ मा आएको बाढीपहिरोले मान्डु हाइड्रोपावरले सञ्चालन गरेको २२ मेगावाटको वाग्मती खोला साना जलविद्युत् आयोजनाको विद्युत् गृहलगायत संरचनामा ठूलो क्षति पुर्‍याई विद्युत् उत्पादन बन्द भएको थियो ।

त्यसपछि फास्ट ट्र्याकअन्तर्गत उक्त खण्डमा विद्युत् आपूर्ति हुन सकेको छैन । वाग्मतीमा आएको बाढीले आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्ने स्विचयार्ड र त्यहाँ प्राधिकरणले राखेको पावर ट्रान्सफर्मरलगायत उपकरणसमेत बगाइदिएको थियो ।

आयोजनाबाट उत्पादित बिजुली ६६ केभी प्रसारण लाइनमार्फत ढोर्सिङ र ३३ केभी लाइनमार्फत ललितपुरको माल्टा सबस्टेसनतर्फ प्रवाह गरिएको थियो । माल्टा सबस्टेसनबाट ११ केभी लाइनमार्फत फास्ट ट्र्याकलाई आपूर्ति दिइएको थियो ।

माल्टा सबस्टेसनमा ललितपुरमै सञ्चालनमा रहेको अर्को दुई मेगावाटको खानीखोला जलविद्युत् आयोजना पनि जोडिएको थियो । तर बाढीपहिरोले खानीखोलामा पनि क्षति पुगेपछि माल्टा सबस्टेसन विद्युत् स्रोतविहीन बनेको हो । जसका कारण फास्ट ट्र्याकको विद्युत् आपूर्ति बन्द भएको थियो । अहिले दुवै आयोजनाको पुनर्निर्माण चलिरहेको प्राधिकरणको भनाइ छ ।

विद्युत् आपूर्ति नहुँदा फास्ट ट्र्याक निर्माणमा समस्या भएको नेपाली सेनाले जानकारी गराएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललगायत सम्मिलित उच्चस्तरीय टोलीले गत सोमबार मान्डु माल्टाबेंसी क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेको थियो ।

टोलीले पुनर्निर्माण भइरहेको वाग्मती खोला साना जलविद्युत् आयोजना र ढोर्सिङ सबस्टेसनको भ्रमण गरी तत्काल विद्युत् आपूर्ति गर्न सकिने विभिन्न विकल्पमा सम्बन्धित पदाधिकारीहरूसँग छलफल गरेको थियो । आगामी चैतभित्र आयोजनाको पुनर्निर्माण सक्ने गरी काम भइरहेको छ । उक्त आयोजना सञ्चालन आएपछि पुरानै व्यवस्थाअनुसार विद्युत् आपूर्ति दिइनेछ ।

आयोजना सञ्चालनमा नआएसम्मका लागि ढोर्सिङ सबस्टेसनमा पावर ट्रान्सफर्मर थप्ने र ढोर्सिङ–मान्डु लाइनलाई ११ केभीमा चार्ज गरी फास्ट ट्र्याकलाई विद्युत् आपूर्ति दिनु तत्कालका लागि उपयुक्त विकल्प भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

‘गौरवको आयोजनाको काम प्रभावित हुनुहुँदैन । बाढीले क्षति पुर्‍याएका आयोजनाबाट विद्युत् उत्पादन सुरु नभएसम्म वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिनुपर्छ । यसका लागि तत्काल काम सुरु गरौं,’ घिसिङले भने ।

Sharing Is Caring:

Leave a Comment