वीरगन्ज कृषि औजार कारखानालाई सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री क्षत्री

Swastika Bhandari

पुस १७, २०८१

पर्सा — मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षत्रीले वीरगन्ज कृषि औजार कारखाना सन्चालन गर्नका लागि प्रदेश सरकार सक्दो सहयोग गर्न तयार रहेको बताएका छन् । 

राष्ट्रिय आविष्कार केन्द्रद्वारा सन्चालित उक्त कारखानाको बुधबार स्थलगत निरीक्षण पछि उनले यस्तो बताएका हुन् । कारखानामा भइरहेको अनुसन्धान र कामबाट आफू अत्यन्त प्रभावित भएको समेत मन्त्री क्षेत्रीले बताए । ‘कारखानाको लागि प्रदेश सरकारले यस वर्ष छुट्याएको ५० लाख रुपैयाँ दिने प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने, ‘आउँदो वर्षको बजेटमा पनि कारखानाको लागि थप रकम छुट्याउन सरकार वचनबद्ध छ ।’

कारखाना सन्चालनका लागि रहेका समस्याहरुलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।

मधेश प्रदेश सरकारले छिट्टै कृषि ऐन ल्याउन लागेको भन्दै उनले ऐन आएपछि काम गर्न झनै सहज हुने बताए । ‘कृषि ऐनको मस्यौदा हाल कृषि समितिमा गइसकेको छ,’ उनले भने, ‘त्यसपछि सदनमा जान्छ, ऐन आएपछि काम गर्न झनै सहज हुन्छ ।’

आविष्कार केन्द्रले उत्पादन गर्ने कृषि उपकरणहरुलाई किसानसम्म पुर्‍याउन प्रदेश र संघीय सरकारले सहयोग र सहजीकरण गर्ने भन्दै मन्त्री क्षेत्रीले विदेशीभन्दा स्वदेशी कृषि उपकरण सस्तो, भरपर्दो र गुणस्तरीय हुने भएकाले स्वदेशी कृषि औजारलाई पनि प्रोत्साहित गरिने बताए । यसका लागि केन्द्रले पनि आफ्ना उत्पादन अब किसानको खेतसम्म पुर्‍याएर सफल परीक्षण गर्नुपर्ने उनले सुझाए ।

तीन दशकयता किसानलाई अनुदानमै कृषि उपकरण वितरण भइरहेको तर त्यसको प्रतिफल आउन नसकेको भन्दै मन्त्री क्षेत्रीले अब परम्परागत खेतीलाई विस्थापित गरी युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न अत्याधुनिक कृषि उपकरण किसानको पहुँचसम्म पुग्न आवश्यक भएको बताए ।

केन्द्रका प्रमुख इन्जिनियर रितेश देवले मन्त्री क्षेत्रीलाई केन्द्रले आविष्कार गरेका विभिन्न उपकरणबारे जानकारी गराएका थिए । उनले कृषि उपकरण उत्पादन गर्न आयात गरिने कच्चा पदार्थमा लाग्ने भन्सार महसुल चर्को रहेकाले त्यसलाई घटाउन आग्रह गरेका थिए ।

Sharing Is Caring:

Leave a Comment