सन्तोषीले प्रेम सम्बन्धबारे दिदीबहिनीसँग कुरा गरेकी थिइन्, परिवारमा विवाहको सल्लाह पनि हुँदै थियो । तर, अस्ताइन् ।
पोखरा । सन्तान सुख र भविष्यको चिन्तासमेत हटेपछि ढुक्क भएर सिन्धुपाल्चोकका रोविन्द्रबहादुर र कमला महत एक महिनाअघि अस्ट्रेलिया उडेका थिए । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८, लाँगर्चे महत दम्पती त्यहाँ ठूली छोरीज्वाइँसँग गएका थिए ।
तर, खुसीखुसी अस्ट्रेलिया गएका महत दम्पती एक महिना पनि पूरा नहुँदै भक्कानिँदै नेपाल फर्किनुपर्यो । सरकारी सुरक्षा सेवामा रहेकी छोरी सन्तोषीको विवाहमा रमाउने सल्लाह गरेर अस्ट्रेलिया उडेका दम्पतीले तिनै छोरीको चिता जलाउनुपर्यो ।
भर्खरै इन्स्पेक्टरमा नाम निकालेर तालिमसमेत उत्कृष्ट भइरहेको बताएकी सन्तोषी पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत भेटिएको खबरले एकाएक उनीहरुको खुसीलाई धुमिल बनाइदियो ।
छोरीको इच्छाअनुसार छिट्टै विवाह गरेर खुसी साट्ने कल्पनामा अस्ट्रेलिया उडेका रोविन्द्र दम्पतीलाई परिस्थितिले आफैं बिहीबारदेखि किरिया बस्ने गरी नेपाल फर्काइदिएको छ ।
फागुन १० गते ब्यारेकमै झुन्डिएको अवस्थामा सन्तोषी भेटिएपछि उनीहरु रन्थनिएका छन् – आखिर के चाहिँ त्यस्तो परिस्थिति आइलाग्यो र उनले यस्तो अप्रिय निर्णय लिइन् !
‘दिदीको संघर्ष लेभलाग्दो थियो । सिपाहीबाट इन्स्पेक्टरसम्म पुग्दा परिवारमा खुसीयाली थियो । प्रमोसन र तालिम पनि उत्कृष्ट भइरहेको थियो,’ भाइ विनोदले अनलाइनखबरसँग भने, ‘तर, दिदीको मृत्युको घटनाले परिवारमा वज्रपात परेको छ ।’
पोखरामा पोस्टमार्टम गरेर छोरीको शव लिएर काठमाडौं पुगेका सन्तोषीका परिवारले बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेर गाउँ फर्किएका छन् । बिहीबारदेखि नै सन्तोषीका बाबु रोविन्द्र किरिया बस्न थालेका छन् ।
एउटी छोरी सन्तोषी महत सशस्त्र प्रहरीमा इन्स्पेक्टर, छोरा विनोद नेपाली प्रहरीको असई । ठूली छोरी र ज्वाइँ अस्ट्रेलियामा र कान्छी छोरी काठमाडौंमा अध्ययनरत थिइन् । २०७२ सालमा सन्तोषीले सशत्र प्रहरीको सिपाहीमा भर्ती भएर २०७८ सालमा असईमा नाम निकालेकी थिइन् ।
यही साल इन्स्पेक्टरमा नाम निकालेर सन्तोषीले पोखरामा तालिम गरिरहेकी थिइन् । त्यही क्रममा उनी मृत फेला परेकी हुन् । परिवारले ११ गते नै जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका थिए ।

परिवारको किटानी जाहेरीका आधारमा कास्की प्रहरीले सशस्त्र प्रहरीको २३ नम्बर गण तनहुँमा कार्यरत इन्स्पेक्टर विवेक जोशीलाई ११ गते नै पक्राउ गरी ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले इन्स्पेक्टर सन्तोषी र विवेकको मोबाइल लिएर अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
ब्यारेकभित्रै सन्तोषी मृत फेला परेको घटनाले परिवारलाईमात्रै होइन, सिंगो संगठनभित्र पनि तरंग सिर्जना गरेको सुरक्षा अधिकृतहरुले बताइरहेका छन् । परिवारका अनुसार इन्स्पेक्टर जोशी र सन्तोषीबीच प्रेम सम्बन्ध थियो । यो कुरा उनीसँगै सहकर्मी र सन्तोषीका परिवारलाईसमेत धेरथोर जानकारी थियो ।
भाइका अनुसार भविष्यमा राम्रो केटा हेरेर विवाह गर्ने परिवारका बीच छलफल चलेको थियो । ‘दिदी इन्स्पेक्टर भएर तालिम पनि उत्कृष्ट गरेकाले घरमा सबैबीच खुसीयाली थियो तर उसलाई अर्कै तनाव रहेछ,’ अहिले नेपाल प्रहरीको असई पदमा दोलखामा कार्यरत विनोदले भने, ‘घटनाको यथार्थ त प्रहरी अनुसन्धानले देखाउला तर यो मृत्यु शंकास्पद छ ।’
सन्तोषीले भनेकै, रोजेकै केटा राम्रो रहेछ र भविष्य पनि बन्छ भने उसैसँग तत्काल नभएपनि केही पछि विवाह गर्ने विषयमासमेत छलफल भएको विनोदले बताए ।
‘तालिम उत्कृष्ट भन्दै दिदीले सुनाएकी थिइन् । घरमा उनलाई कुनै किसिमको तनाव थिएन र उनले कहिल्यै तनावबारे बताएकी पनि थिइनन् । परिवारले अनुमानसमेत गरेको थिएन,’ भाइ विनोदले भने, ‘एक्कासी आएको मृत्युको खबरले धेरै प्रश्न र आशंका त उब्जाएका छन् तर यसै हो भन्न सकिएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि केही अनुमान गर्न सकिएला ।’ सन्तोषीले आफ्नो प्रेमबारे दिदी–बहिनीसँग बताएको परिवारले जनाएको छ ।
महिला शौचालय नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी सन्तोषीको मुखबाट रगतसमेत बगेको देखिँदा परिवारमा शंका उब्जिएको सशस्त्र प्रहरीमै कार्यरत काका भीमसेनले बताए ।
थाङ्पाल–८ का वडाध्यक्ष ओम खड्काले काठमाडौंको पशुपति आर्यघाटमा सन्तोषीको अन्तिम संस्कार गरेर फर्किएको र यो घटनाले परिवारमा मात्र नभइ आफन्त तथा गाउँमै शोक परेको बताए ।
‘सिपाहीमा भर्ती भएर इन्स्पेक्टर भइसकेपछि उनी अझै ठूलो पदमा पुग्छिन् भन्ने थियो । ठूलो छोरीज्वाइँ अस्ट्रेलिया, कान्छी अध्ययनरत र छोरा नेपाल प्रहरीमा भएपछि बाउआमा खुसी थिए,’ आफन्तसमेत रहेका वडाध्यक्ष खड्काले भने, ‘तर सन्तोषीले नसोचेको निर्णय लिएको खबर आयो र त्यो निर्यण गर्ने अवस्था कसरी सिर्जना भयो भन्ने कुराले सबैलाई रन्थनाएको छ ।’
प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा इन्स्पेक्टर जोशीमाथि अनुसन्धान गरिरहेको छ भने घटनाको छानबिनका लागि सशस्त्र प्रहरी हेडक्वाटरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरेको छ ।