जापानबाट फर्केका थिए फरार युवक, सोही देशको भाषा पढ्दै थिइन् युवती

Hema Nath

ती युवक यही मंसिरको अन्तिम सातातिर जापानबाट काठमाडौं आएको देखिएको एक अनुसन्धान अधिकारीले बताए । युवती खड्कासँगै ओखलढुंगाका देवबहादुर थापा होटलमा बस्न गएको खुलेको ती अधिकारीले बताए ।

१९ पुस, काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवती जापनिज भाषा अध्ययनरत रहेको खुलेको छ ।

मृत भेटिएकी कागेश्वरी मनोहरा ठेगाना भएकी २१ वर्षीया सुस्मिता खड्का जापानी भाषा अध्ययनरत रहेको आफन्तले प्रहरीसमक्ष बताएका छन् । जापनिज भाषा अध्ययनरत रहेकाले उनी जापान जाने तयारीमा रहेको हुनसक्ने बुझिएको छ ।

त्यसैगरी उनीसँगै पिंगलास्थानको बागमती होटलमा बस्न गएका युवक जापानबाट फर्केको खुलेको छ ।

ती युवक यही मंसिरको अन्तिम सातातिर जापानबाट काठमाडौं आएको देखिएको एक अनुसन्धान अधिकारीले बताए । युवती खड्कासँगै ओखलढुंगाका देवबहादुर थापा होटलमा बस्न गएको खुलेको ती अधिकारीले बताए ।

बुधबार बागमती होटलको कोठा नम्बर ३०८ मा युवती खड्का मृत भेटिएकी थिइन् । उनी नयाँ वर्षको अघिल्लो दिन उक्त होटलमा पुगेकी थिइन् । ओखलढुंगाका २३ वर्षीय थापासँग उनी होटलमा पुगेको बताइएको छ । त्यसको भोलिपल्ट बुधबार उनी मृत भेटिएकी हुन् ।

उनी खुट्टामा जुत्ता लगाएकै अवस्थामा मृत भेटिएकी थिइन् । युवती कोठाबाट बाहिर निस्कन लागेपछि ती युवकले बाहिरबाट ताला लगाएर फरार भएको हुनसक्ने आशंका प्रहरीको छ । संदिग्ध व्यक्ति अहिलेसम्म पक्राउ नपरेकाले यसको यकिन कारण खुल्न सकेको छैन ।

मंगलबार कोठामा बस्न आएका युवायुवती बाहिरबाट ढोकामा ताला लगाएर सम्पर्कविहीन भएको भन्दै बिहीबार होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा बुधबार दिउँसो ताला फुटाएर हेर्दा युवतीको शव भेटिएको थियो ।

युवती मृत भेटिएपछि प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा युतवीसँगै होटलमा बस्न आएका ती युवकले मृत युवतीको मोबाइल समेत लिएर गएको खुलेको थियो ।

युवती मृत भेटिएको कोठामा रेडबुलको बट्टा समेत भेटिएको थियो । अन्य कुनै खानेकुराहरू नभेटिएकाले घटनाको प्रकृति हेर्दा ती युवतीले रेडबुल पिएको जस्तो देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

युवतीको शरीरमा कतै पनि घाउ चोट नलागेको प्रहरी अधिकारीहरू बताउँछन् । घटनास्थल मुचुलका गर्ने क्रममा युवतीको मुखबाट फिज निस्किएजस्तो पदार्थ देखिएको प्रहरी अधिकारीको भनाइ छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकाले मृत्युको यकिन कारण खुल्न सकेको छैन ।

Sharing Is Caring:

Leave a Comment