२०८१ फागुन १८ गते
तिलोत्तमा — नेपाली महिला क्रिकेट यू–१९ कि कप्तान पूजा महतो र सिनियर टिमकी सदस्य कविता कुँवर एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
एक्स्ट्राटेक ओभलले आइतबार महतो र कुँवरलाई आगामी २ वर्षका लागि एम्बासडर नियुक्त गरेको हो । तिलोत्तमा-१७ स्थित क्रिकेट मैदान परिसरमा खेलाडीद्वय र एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुवँरले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापश्चात् खेलाडी महतोले यू–१९ को टिम छनोटका लागि एक्स्ट्राटेक ओभल मैदानमा गरिएको क्लोजक्याम्प आफ्नो खेल जीवनको स्वर्ण क्षण भएको स्मरण गरिन् । उनले यो नियुक्तिले आफुलाई हौसला थपेको र खेलमा केन्द्रित हुने अवस्था निर्माण गरेको बताइन् ।
नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर दुई नेपाली महिला खेलाडी एक्स्ट्राटेकको ब्रान्ड एम्बासडर बनेको बताए । उनले यस प्रकारको सहयोगले खेलाडी र क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा निर्देशक कुवँरले नेपाली महिला क्रिकेटको भविष्य उज्जवल रहेको बताए । उनले युवा खेलाडीले नियमति रुपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाँजोमा पुग्न सक्ने भएकाले महिला खेलाडीलाई हौसला प्रदान गर्न एम्बासडर नियुक्त गरेको बताए ।